काठमाडौं । दोस्रो जनआन्दोलनमा घाइते भएका ‘जिउँदा शहीद’ भनेर चिनिने काभ्रेका मुकेश कायस्थको निधन भएको छ। कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो। उनको (विहीबार) अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए।
बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका थिए।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो। त्यतिबेला उनी १४ वर्षका थिए। सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो।
सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एकजना नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।