काठमाडौँ । आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबाङ्गका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ।
खाकाबेँसीको बघमारे घाटमा सो सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपाल खनालले बताए। भुमिकास्थान नपा–२ ढाकाबाङ्गमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ शोकमा डुबेको छ।
मङ्गलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँ बेल्वासे टोलका चारै जनाको मृत्यु भएको थियो। घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियो। पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएकामा उपचारका लागि लैजाँदै गर्दा केहीको बाटोमा र केहीको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियोे ।
आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो। आगलागीमा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ।