असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत ९ जना बुहारीहरुलाई सम्मान

गुल्मीको मदाने गाउँपालिकामा बुहारी सम्मान कार्यक्रम सुरु गरिएको छ । बुहारीहरुले ज्येष्ठ नागरिकप्रति गरेको सेवाको आधारमा मदाने गाउँपालिका-१ अग्लुङ्गमा असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत ९ जना बुहारीहरुलाई सम्मान गरिएको हो ।

पछिल्लो समयमा घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको छ । वृद्धवृद्धाले दु:ख भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै पालिकाकाे वडा नम्बर एकमा प्रोत्साहन स्वरुप बुहारी सम्मान अभियान सुरु गरिएको वडाध्यक्ष सुशील चन्दले बताउनु भयो ।

वडा कार्यालयले साविकका नौ वडाहरुबाट प्रतिनिधिमूलक रुपमा एक/एक जना असल बुहारीहरुलाई दाेसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । वडा कार्यालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको निर्मला विष्टले बताउनु भयाे ।

उहाँले यस्ता कार्यक्रमले टोल छिमेकका अन्य दिदीबहिनीहरुलाई पनि थप हौसला प्रदान गर्ने बताउनु भयाे । यस्तै, कार्यक्रममा उत्कृष्ट किसान, समाजसेवी, कर्मचारी, शिक्षक, उत्कृष्ट विद्यार्थी, खेलाडीलगायत विभिन्न समाजिक सङ्घ संस्थाका महत्त्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी दिनु भएको छ । उज्यालो अनलाइन जनार्दन घिमिरे