कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् ।
देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार हुने प्रस्ताव आउँदा लमजुङलाई नै रोजे । ०७४ को निर्वाचनमा उनी यहीँबाट विजयी भएका थिए । त्यतिबेला एमाले(माओवादी गठबन्धनको साझा उमेदवारको रूपमा प्रतिस्पर्धा गरेका उनले सानदार मतले चुनाव जितेका थिए । जन्मथलो मनाङ भएर पनि उनले कर्मथलोको रूपमा लमजुङलाई रोजेका छन् ।
यसपालि पृथ्वीसुब्बा गुरुङको चाहना प्रतिनिधिसभाको उम्मेदवार बन्ने थिएन । ०७४ को प्रदेश सभा निर्वाचनमा लमजुङ ख बाट विजयी भई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री बन्ने सौभाग्य पाएका उनले पूरा कार्यकाल काम गर्न पाएनन् । साढे तीन वर्ष नबित्दै उनले पद गुमाए । यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनको सपना थियो । उनले प्रचार प्रसार पनि थालिसकेका थिए ।
लमजुङमा आयोजना हुने विभिन्न कार्यक्रममा उनले भन्ने गरेका थिए, “मैले सुरू गरेको थुप्रै काम अहिले अधुरा र अलपत्र छन्, ती अधुरा अपूरा काम पूरा गर्न र गण्डकीलाई समृद्ध प्रदेश बनाउन म पुनः प्रदेश सभाको निर्वाचन लड्छु, मुख्यमन्त्री बन्छु ।”
तर चाहना नहुँदा पनि उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनायो पार्टीले । पछिल्लो समय गुरूङभन्दा पनि ओलीको नजिक बनेका खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्री बन्ने तयारीका साथ कास्कीबाट प्रदेश सभाको टिकट पाएपछि पृथ्वीसुब्बा प्रतिनिधिसभाको उमेदवार बन्न पुगेका छन् ।
एमाले नेताहरूमध्ये गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी एक अर्काका प्रतिस्पर्धी हुन् । केपी ओलीको कोपभाजनमा परेका गुरुङ अहिले देव गुरूङसँग प्रतिस्पर्धामा छन् । लमजुङ प्रदेश ख पृथ्वीसुब्बाका लागि सहज थियो, तर प्रतिनिधिसभाको निर्वाचन उनका लागि फलामको च्युरा चपाउनुसरह मानिएको छ ।
प्रदेश सभा ख उनको आफ्नै क्षेत्र हो, क्व्होंलासोंथार उनको गृह गाउँपालिका हो, जहाँ उनको पार्टीले गत स्थानीय निर्वाचनमा क्लिन स्विप पारेको छ । यसबाहेक मर्स्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका, मध्यनेपाल नगरपालिका उनका प्रभाव क्षेत्र हुन् । बरू उनलाईभन्दा जमिन्द्रमान घलेलाई प्रतिनिधिसभाको निर्वाचन लड्न सहज थियो । उनको चाहना पनि त्यही थियो, तर घलेले प्रदेश सभा क को टिकट पाएका छन् ।