गोपनीयता तोडेर करिअर र इज्जत सिध्याइयो, यसको उपचार पाउँछु कि पाउँदिनँ ? – सन्दिप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने ना’बालिका ब’ला’त्का’रको आरोप लागेपछि प्रहरी हि’रासतमा छन् । तर, सन्दीप र उनका कानुन व्यवसायीहरू भने नाबालिका भनिएकी किशोरीको उमेर १८ वर्ष नाघेको दाबी गरिरहेका छन् । जसले गर्दा पीडित भनिएकी किशोरीको उमेरमा विवाद देखिएको छ ।

सन्दीपले न्यायाधीशसमक्ष पनि किशोरीको उमेरको प्रसंग उठाएको उनका अधिवक्ताले बताए ।

सोमबार जिल्ला अदालत काठमाडौंमा सन्दीपलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न उपस्थित गरायो । सन्दीपले न्यायाधीशसामु आफू पटकपटक निर्दोष रहेको कुरा दोहोर्‍याइरहे । सन्दीपले न्यायाधीशसमक्ष सबै कुरा राखेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए । उनले भने, ‘सन्दीपले आफू निर्दोष रहेको सम्पूर्ण जानकारी श्रीमान्‌सँग दिनुभएको छ । युवतीले बारम्बार आफू १९ वर्ष भएको बताएको पनि श्रीमान्‌सामु सन्दीपले राख्नुभएको छ ।’

पछि लाभ हुने भएको हुँदा उमेर घटाएर जन्मदर्ता गरेको नाबालिका भनिएकी युवतीले आफूलाई सुनाएको सन्दीपले अदालतमा बयान दिएका छन् ।

असोज २० गतेदेखि लागू हुनेगरी सन्दीपमाथि अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ । प्रहरीले भने अनुसन्धानका लागि हिरासतमा राख्न १० दिनको समय मागेको थियो ।

आफ्नो गोपनीयता भंग गरेको, इज्जत सकाएको भन्दै यसको कानुनी उपचाका लागि वैकल्पिक बाटो छ ? भन्दै सन्दीपले न्यायाधीशसामु प्रश्न गरेका थिए । उनका कानुन व्यवसायी घिमिरेले भने, ‘न्यायाधीशसमक्ष सन्दीप लामिछानेले सिलसिलाबद्ध घटनाको जानकारी गराउनुभयो । म निर्दोष छु भन्दै आफ्नो गोपनीयता भंग गरेको अवस्थामा, मेरो करिअरलाई नै सकाएको, इज्जत नै सकाएको अवस्थामा वैकल्पिक उपचार मलाई व्यवस्था छ कि छैन भनेर श्रीमान्‌लाई सोध्नुभयो ।’

उनी थप्छन्, ‘श्रीमान्‌ले मुद्दाका क्रममा यो विषयलाई उठान गर्न सक्नुहुन्छ भनेर भन्नुभयो ।’