सन्दीप प्रकरण : ‘पीडित माइती नेपालको कब्जा’बारे बोलिन् अनुराधा कोइराला (भिडियो सहित)

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने बालिकाबारे माइती नेपालले स्पष्ट पारेको छ ।न्युज २४ को सिधाकुरा जनतासँग कार्यक्रममा कुरा गर्दै माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले विभिन्न सञ्चारमाध्यममा आएको ‘सन्दीप प्रकरण : माइती नेपालको कब्जामा पीडित’ भन्ने समाचारको खण्डन गरेकी छन् ।

उनीले पीडित भनिएकी बालिकालाई कब्जामा नभएर संरक्षणमा राखेको बताइन् । सरकारकै अनुरोधमा आफूले ती बालिकालाई माइती नेपालमा राखेको बताइन् । उनले भनिन्- ‘प्रहरीले संरक्षणमा राखिदिन अनुरोध गरेपछि हामीले राखेका हौँ ।

प्रहरीको पत्रसहित आएको हो । उनलाई हामीले नियन्त्रणमा राखेको होइन, संरक्षणमा राखेका हौँ । उनलाई एउटा घर परिवारले दिने माया दिइराखेका छौँ अरु बालिकाहरूलाई जस्तै ।’

‘माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेको’प्रति पनि उनीले खण्डन गरेकी छन् । उनले भनिन्- ‘जुन कुराहरू आइरहेको छ, ब्रेनवास गर्यो, काउन्सिलिङ गर्यो । उसलाई मात्रै होइन जसलाई पनि युगान्डादेखि लिएर मालबी, इराक, इरान मनिपुर, श्रीलंका जहाँबाट आएपनि बच्चाहरूलाई एक राउन्ड काउन्सिलिङ जस्तो गर्छौँ । त्यसपछि त हामी बोल्दैनौं । बच्चाहरू आफ्नो धुनमा खेल्छन् आफ्नो धुनमा रमाउँछन् । आफ्नो आफ्नो धुनमा बस्छन् । यसलाई ब्रेनवास भन्ने मिल्दैन । यो त मोटिभेसन हो ।’source:news24nepal