काठमाडौं । बिहीबार साँझदेखि एउटा भिडिओ भाइरल भइरहेको छ, जसलाई हेर्ने जोकोही भावुक हुन्छन् । एउटी युवती रित्तो ठेलागाडा समातेर बिलौना गरिरहेको हृदयविदारक दृश्य थापाथलीस्थित प्रसूति गृह अगाडिको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको मौखिक आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेको सनकका भरमा एउटी बेसहारा महिलाको गरिखाने एकमात्र सहारा उनको ठेलागाडाका सामानमात्र फालिएन, गाडा पनि फुटालियो ।
लमजुङ घर भएकी शर्मिला तामाङलाई उनको दुःख देखेर विदेशमा बस्ने एकजना शुभचिन्तकले ठेलागाडा किन्ने पैसा पठाइदिएका रहेछन् । त्यही पैसाले किनेको ठेलागाडामा सामान राखेर उनले प्रसूति गृह अगाडि दिउँसो व्यापार गर्थिन् ।
महानगरपालिकाले डोजरसहित लिएर गएपछि उनले आफूले उक्त ठाउँ छाड्ने बताएकी थिइन् । तर, छाड्छु भन्दाभन्दै पनि नगर प्रहरी प्रमुख राजु पाण्डेको सनकमा ती निमुखाको उठिबास लगाइयो । सामानहरु फालियो, ठेलागाडा फुटाइयो ।
बिलौना गर्दै शर्मिला भनिरहेकी छन्, ‘मेरो स्टिल निकाल्न दुःख गरिरहेकी छु । मेरो हातमा स्टील छ । काम पनि कसैले दिँदैन । अर्काले दिएको विदेशमा भएको मान्छेले पैसा पठाएर किन्देको हो । आजदेखि आउँदिनँ त भनिराखेको थिएँ । मेरो बच्चा बाटोमा रोइरहेको होला।’
यसबारेमा जानकारी लिन खोज्दा महानगर प्रहरीका प्रमुख पाण्डे सम्पर्कमा आउन चाहेनन् । महानगरपालिका स्रोतका अनुसार पछिल्लो समय डोजर चलाउने र साना व्यवसायीहरुलाई उठाउने सन्दर्भमा कुनै लिखित निर्णयविना मेयरको मौखिक आदेश भन्दै पाण्डेले तोडफोड गरिरहेका छन् । nepalpress