आदिमकालदेखि अहिलेको युगसम्म आइपुग्दा पुरूषहरूले नै महिलाका लागि सामाजिक तथा सांस्कृतिक मूल्यमान्यताहरू निर्माण गरेका छन्। शारीरिक रूप-रङका आधारमा महिला के कति सुन्दर हुन्छे, त्यो पनि समाजले तोकिदिएको छ।
आदिमकालदेखि नै पुरुष मालिक र महिला दास हुन भन्ने सोच विकसित भएको हो। जुन आज पनि कायमै छ । पुरुषको मातहतमा बस्नुपर्ने, उसले भनेको मान्नुपर्ने, पुरुषहरूका लागि मनोरञ्जनका साधनका रूपमा आफूलाई सुम्पनुपर्ने जस्ता मान्यताको अभ्यासले महिलालाई दोस्रो दर्जाको नागरिक बनाएको छ ।
महिला सौन्दर्यका मानकहरू के के हुन् त ? सलक्क जिउडाल, बारुले कम्मर, टमक्क परेका नितम्ब, छातीको उभार, गोरो छाला, कालो लामो कपाल, मृगनयन, चुच्चो नाक, पिपलपाते ओठ ! शारीरिक अवयवले महिलालाई औधी सुन्दर देखाउँदो होला हैन ?
महिलाहरू सुन्दर प्रजातिका हुन् भन्ने अवधारणा नै गलत छ । यो पुरुषसत्ताको चाल हो । सुन्दर ठानिएकै कारण महिलाहरूले धेरै समस्याहरू झेल्नुपरेको हुन्छ । दैनिक यात्रामा हिँड्दा पुरूषबाट जिस्काइनु, एकोहोरो प्रेमप्रस्ताव राखिनु ,स्वीकार नगरे तनाव दिनु, बलात्कार गर्नु , एसिड खन्याइनु र हत्यासम्म गरिनु जस्ता अपराधहरू पटक पटक दोहोरिने गरेका छन् ।
मुस्कान खातुन जस्ता छोरीले सुन्दरताकै कारण आजीवन पीडा खप्नुपर्ने भएको छ । पुरुष इगो हर्ट भएपश्चात बदला लिने उदेश्यले घटाइने यस्ता घटनाले युवतीमा हिनताबोध र रोग त निम्त्याउँछ नै परिवारलाई पनि दुखी बनाइदिन्छ । जिन्दगीभर उपचार गरिरहनु पर्दाको आर्थिक भार त छँदैछ ।
एउटा पुरुषले आफूलाई महिलाको योनीबाट नै जन्मिएको कुरो बिर्सिन्छ र विवेक गुमाएर बलत्कार गर्न पुग्छ। सुन्दर ठानिएका महिलाहरू मात्र होइन, साना बालिकादेखि वृद्धासम्म बलात्कारको सिकार भएका छन् । प्रकृतिले दिएको महिला शरीर सृष्टिसहितको विशेष गुण भएको शरीर हो, तर कमजोर होइन ।
कमजोर हो भन्ने धारणा त पुरुषसत्ताले निर्माण गरेर जबरजफ्ती समाजमा प्रचार प्रसार गरी स्थापित गरेको हो । जसले महिलालाई जिन्दगीभर असुरक्षित बनाएको छ । महिलालाई सन्तान उत्पादन र भोग्य वस्तुका रूपमा मात्र परिभाषित गर्न रुचाउने पुरुषमुखी सोचको कारण महिलालाई आफ्नै शरीर शत्रु बनेको छ ।
एउटा भनाइ छ-“पुँजीवादले घरमा श्रीमती राखेर बजारमा सेक्स खरिद गर्छ ।”, विशेषगरी महिला कलाकार एवम् सम्पूर्ण महिला वर्ग नै प्रत्यक्ष वा परोक्ष खरिद गरिने सेक्स बनिरहेका हुन्छन् ।
सामाजिक संजालमा सक्रिय केही महिलाहरुले शरीर नङ्ग्याएर महिला सशक्तिकरणको हुंकार पिटिरहेका भेटिन्छन् । नाङ्गिदैमा कोही सुन्दर हुँदैन । सुन्दरता भन्नू भ्रम मात्र हो । साईबाबा भन्छन्- “सहनशीलता नै महिलाको गहना हो।”, पुरुषले त सीतालाई उभ्याएर समस्त नारीलाई सहनशील हुन बाध्य पारेको छ । किनकि ऊ महिलाले विद्रोह गरुन् भन्ने चाहँदैन । नारीलाई धर्म, संस्कार र संस्कृतिले बाँधेर आफू मात्र स्वतन्त्र बनिरहन चाहन्छ ।
अब आफूलाई शिक्षित र चलाख सम्झने महिलाहरूले विद्रोहि चेत निर्माण गर्नुपर्छ । अब सौन्दर्य र कस्मेटिक संसारमा महिलालाई भुलाइदिएर अर्थतन्त्रमा एकछ्त्र राज गरिरहेको पुरुषसत्तासँग आर्थिक लडाइँ लड्नै पर्छ । घरधन्दा र परिवारमोहमा घोत्लिन बिसिर्एर आफ्नो अस्तित्वको रक्षार्थ हरतवरले जुट्न अत्यावश्यक छ । महिलाहरू कुनै पनि हालतमा कमजोर होइनन् भन्ने प्रमाणित गर्ने ढिला भइसकेन र ?