सिर्जना सुवेदी नामको टिकटकबाट भिडियोहरु पोष्ट गरिन्थे । भाइरल भएका भिडियोमा एक नेपाली जोडीको नृत्य देख्न सकिन्छ । नाँचीरहेकी श्रीमतीलाई पछ्याउँदै श्रीमान बल गरेर नाँच्न खोज्छन् ।
श्रीमतीका हाउभाउ कपी गर्न खोज्दा उनको नाँच रमाइलो देखिन्छ । नजानेर पनि श्रीमतीलाई दिएको साथ र गरेको रमाइलो धेरैलाई मनपर्छ । टिकटक हेरेर मजा लिने र हाँस्ने बाहेक कैयौंले कमेण्ट पनि गर्छन्, “कति राम्रो जोडी, कसैको आँखा नलागोस् ।”तर यो जोडिमाथि आँखा लागेको छ ।
सिर्जना सुवेदी र विवेक पंगेनीमाथि यतिबेला बज्रपात परेको छ । टिकटकमा दुनियाँ हसाएका यी दुई अहिले आफै आँसुको तालमा डुबेका छन् ।सोमबार सिर्जनाले एक फेसबुक पोष्ट गरिन् । २० घण्टा अघि सिर्जनाले विवेकको जीवन बचाउन भन्दै सहयोगको अपिल गरेको उक्त स्टाटस अहिले भाइरल भइरहेको छ ।
अहिले धेरै नेपालीहरूले याे पाेष्ट शेयर गर्दै आर्थिक सहयाेग मागिरहेका छन् ।बर्दिया घर भएका ३० वर्षिय विवेक यतिबेला अमेरिकाको एक अस्पतालको बेडमा पल्टिरेहका छन् । र उनको लामो आयु तथा स्वास्थ्यलाभको प्रार्थना गर्दै श्रीमानको छेवैमा बसिरहेकी छिन् सिर्जना ।
मिठो सपना बुनेर अमेरिकाको यात्रा तय गरेका यी जोडी अहिले भविष्य बनाउँदै होइन, भविष्यको लागि आयु लम्बाउन भगवानसँग गुहार मागिरहेका छन् । ६ महिना अघि मात्र फिजिक्समा पिएचडि गर्न अमेरिका गएका विवेकलाई ब्रेन ट्युमर भएको छ ।एक महिनाअघि पार्किन्सनका कारण आमाकाे निधन भएपछि विवेक र सिर्जना नेपाल आएका थिए ।
साे समयमा नै विवेक बेला बेला बेहाेस भइरहेका थिए । सञ्चाे नभएपछि आमाकाे किरिया सकेर उनीहरूले काठमाडाैंकाे अस्पतालमा परिक्षण गराएका थिए । जसबाट बिबेकलाई ब्रेन ट्युमर भएकाे देखिएकाे थियाे । “अहिले डाक्टरले रिपोर्ट हातमा लिएर त्यो खबर सुनाको पल याद गर्दा मुटु निस्केला झैँ हुन्छ ।
आमा गुमाएको एक महिना न पुग्दै आफूलाई तेस्रो स्टेजको ब्रेन ट्युमर भाको खबर सुन्दा के बित्छ त्यो पर्नेले मात्र बुझ्छ,” सिर्जनाले पिडा पाेखेकी छिन् । “आँखा अगाडि हामी दुवैको अँध्यारो भयो, एकअर्कालाई हेरेर रोई रहेंउ, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए मैले आफूलाई परेपछि था भयो हो रहेछ !, सिर्जना त्याे पल सम्झिन्छिन् ।
“नेपालमा रिपोर्ट आको भोलि पल्टको फ्लाईट थियो, हिम्मत टुटिसकेको थियो केही सोच्न सक्ने अवस्थामा थिएनौं । रात भरी रोएर अब हामी रोएर हुँदैन रोगसंग लड्नु पर्छ जस्तो लाग्यो, हामी टुट्नु हुँदैन भन्ने लाग्यो, चाहे जे होला जस्तो सुकै परिस्थीती आओस् सामना गरुला अब राम्रो ठाउँमा उपचार गर्नु पर्छ भन्ने लाग्यो,” उनले लेखेकी छिन् ।